समलिङ्गी जीवन र समस्याहरु
यस article मा समलिङ्गीहरुको साझा मुद्दा र त्यस माथी केही विचारहरु पस्कने प्रयास गरेको छु । मेरो उद्देश्य केबल यहाँहरुको ध्यानाकर्षण गर्ने जमर्को रहेको छ । आशा छ यहाँहरुले त्यो कुरा मनन गर्नुहुनेछ र आफ्नो अमुल्य बिचार प्रकट गर्दै comment गर्नुहुनेछ ।
१. आफ्नो पहिचान :- यो एक सुरुवाती चरण हो । चाहेर या नचाहेर प्राय समलिंगीहरुले बचपनमा अथवा सानै देखि जिवनमा सुन्दै र फेस गर्दै जाने शब्द 'केटि जस्तो' या यस्तै यस्तै लान्छना तथा भेदभाव पुर्ण वचनहरुको सामना गर्नु पर्ने हुन्छ । कतिपय मानिसहरु त हिजडा, छक्का जस्ता मनमा पिडा दिने शब्दहरु पनि प्रयोग गर्न हिच्किचाउदैनन् । हामिहरु पनि म त्यस्तो होइन भन्ने कुरा प्रमाणित गर्नको लागि हरदम प्रयासरत रहने गर्छौ । यद्यपि, एक चोटि ठन्डा दिमागले सोच्नु पर्ने हुन्छ कि कुनै पुरुषले आफू मर्द हु भन्ने कुरा उसले देखाउनु पर्दैन । जो प्रकृतिक रुपमै आउने गर्दछ । त्यसरी नै समलैङ्गिकता पनि प्राकृतिक रुपमै आउने गर्दछ । त्यसो भन्दैमा आफुले आफुलाइ सानो सोच्नु चाहिँ पक्कै पनि गलत हो । म अरु भन्दा फरक छु, मेरो स्वभाव फरक छ, अथवा मलाइ केटि होइन केटाहरु नै मन पर्छ भने म अरु भन्दा तल्लो स्तरको भए भन्ने खालको मानसिकता बनाउनु व्यर्थ हो । आफुमा भएको खुबीको पहिचान गरेर म जस्तो छु म ठिक छु, म अरु केटाहरु जस्तै त गर्न नसकुला तर म उनिहरु भन्दा फरक तरिकाले काम गरेर साधारण मनिसहरु भन्दा म पनि राम्रो तरिकाले आफ्नो जीवन यापन गर्न सक्षम छु भन्ने तरिकाले सोच्नु र अघि बढ्नु जरुरी देखिन्छ । जो कुरा सहि साबित पनि अवस्य हुनेछ । जब तपाईं आफुले आफ्नो महत्त्व, क्षमता र कमजोरीहरुको पहिचान गरेर अघि बढ्नुहुन्छ तब तपाइँलाई अरुको बचनले पीडा दिदैन र प्रगतिको लागि कसैले रोक्न पनि सक्दैन । आफुले आफुलाइ चिन्नु र स्विकार गर्नु नै सफलताको पहिलो सिँढी हो । बाँकी पछि आउने कुराहरु हुन् ।
२. गलत संगत र लत :- हामी एक सामाजिक प्राणी हौ । हाम्रो जीवन एक्लै सम्भव छैन । यसकारण हामि सधै मन मिल्ने साथिभाइ खोजिरहेका हुन्छौ र मन मिल्ने साथिहरुको कुरामा गलत काम गर्दै गरेको पनि थाहै पाउदैनौ । साथी संगत नै यस्तो कडि हो जसले तपाईं हाम्रो उद्देश्यको बाटो हिड्न र त्यसको गति निर्धारण गर्नमा धेरै नै भुमिका खेल्छ । अहिलेको समयमा विषेशगरि काठमाडौं उपत्यकामा थुप्रै समलिंगी साथिहरुको आफ्नो आफ्नो समूह रहेको देखिन्छ र अरुको देखासिकीमा र साथीहरूको करकापका करण पनि नियमित पार्टी, अबेर राती सम्म नाइट क्लब अनि असुरक्षित सारिरिक सम्पर्कको अभ्यास भैरहेको देख्न पाइन्छ । सबैलाई आफ्नो जिन्दगि आफ्नो तरिकाले जिउन पाउने अधिकार त छदैछ । तर यसले दीर्घकालीन रुपमा हाम्रो जीवन र भविष्यलाई कस्तो खालको असर गर्छ त भन्ने बारे एक पटक गहिरिएर सोच्नु पर्ने आवश्यकता छ । समय रहदै आफ्नो काम कर्तब्य र भबिस्यको लागि बचत गर्ने कुरालाई प्राथमिकतामा राखेर अघि बढ्नु नै बुद्धिमानी ठहर्छ ।
३. करियर अनि भबिस्य :- मानिस एक बुद्धिजीवी प्राणी हो । मान्छेलाई आफ्नो भबिस्यको सधै चिन्ता रहिरहन्छ । आजको खानपान र रहनसहन भन्दा भोलि पर्सिको खानपान र रहनसहन अझै राम्रो बनाउछु भन्ने चाहना हर कोहिलाइ हुन्छ । जसको लागि काम गर्नु जरुरि हुन्छ । अब काम त गर्ने तर कुन क्षेत्रमा गर्ने भन्ने सवाल आउँछ । एक पटक हेरौ चाहे जुन सुकै क्षेत्रमा खोजौ त्यहाँ समलिंगी समुदायको ब्यक्ती भेट्न सकिन्छ । जस्तै कलाकारिताको क्षेत्रमा, फेसन, मेकअप अनि बिउटी को क्षेत्रमा, ब्यपार व्यावसाय अनि नोकरी आदि सबैमा । उनिहरुले आफुलाइ त्यस क्षेत्रको उच्च पदमा पुर्याएका छन र अझै बढी गर्न खोजिराखेका छन भने; के हामी पनि गर्न सक्दैनौ त ? आफुलाइ जुन काम गर्दा आनन्द आउँछ जोस जागर बढ्छ त्यही क्षेत्र सबै भन्दा उपयुक्त हुन्छ भन्दा फरक नपर्ला । अब सोचाइ आउन सक्छ म त्यसको लागि योग्य छैन, मेरो परिवारिक स्थिती खराब छ अथवा मेरो पढाई लेखाइ कम छ भन्ने खालको । बुद्दिमानी र हिम्मतिलो मान्छेको लागि यी सबै बाहाना मात्रै हो, उसले जस्तोसुकै परिस्थितिमा पनि कुनै न कुनै बाटो खोज्छ । मानिस जन्मजातै जानेर आएको हुदैन । काम र आफ्नो योग्यता जति गर्दै गयो र सिक्दै गयो उतिनै बढ्दै जाने गर्छ । तसर्थ बिना हिच्किचाहट भिविन्न प्रकारका तालिमहरुमा आफुलाइ सामेल गर्दै जानू, सिक्दै जानु र आफ्नो क्षमतामा निखार ल्याउदै जानू पक्कै पनि फलदायी हुनेछ । र आफ्नो लगनसिलता र मेहेनतले पक्कै पनि तपाईंको भबिस्य सुनौलो बनाउने छ ।
४. स्वास्थ्य :- भनिन्छ स्वास्थ्य नै धन हो । जति स्वस्थ शरीर उतिनै जोस जागर र प्रगतिको बाटो खुल्ने गर्छ । तर आज भोलि हाम्रो गलत खानपान, जिवनसैली र प्रदुषित वातावरणका कारण हाम्रो स्वास्थ्यमा क्षती हुँदै आइरहेको छ । अहिले मान्छेहरुलाई केही अल्पकालीन रोगहरुले सताइरहेका छन् भने केही दिर्घकलिन रोगहरु जस्तै :- मधुमेह, उच्च- रक्तचाप आदि जस्ता रोगहरुले जरो गाडेर बसिरहेका छन् । त्यसकरण आफ्नो जिवनसैलीमा परिवर्तन गर्नु अति आवश्यक देखिन्छ । स्वस्थ खानपान, पर्याप्त आराम अनि नियमित शारीरिक ब्यायामहरुमा ध्यान दिन सक्यो भने यसको दुरगामी रुपमा सकारात्मक असर देख्न सकिन्छ । यस बाहेक योगा, ध्यान, प्रणायाम, जिम साथै अन्य ब्ययामहरुको सहयताले पनि आफ्नो दीर्घकालीन स्वास्थ्यलाइ बढावा दिन सकिन्छ ।
५. यौन स्वास्थ्य :- समलिंगी समुदायमा यौन स्वास्थ्यलाई निकै नै गम्भीरता पुर्बक लिनुपर्ने देखिन्छ । किनभने यस समुदायमा विभिन्न योन रोगहरु जस्तै गोनोरिया, भिरिङ्गी, यौनाङ्ग तथा मलद्वार वरिपरी चिलाउने, घाउखटिरा, गन्हाउने पानी बग्ने जस्ता अनेकौ संक्रमणहरु साथै HIV/AIDS जस्ता संक्रमणहरु उच्च रुपमा फैलिरहेकोे विभिन्न अध्ययनहरुले देखाउदै आइरहेका छन । हामिले जान्नै पर्ने कुरा के छ भने योनि मैथुन भन्दा गुदा मैथुन कयौ गुणा ज्यादा जोखिम पुर्ण हुने गर्छ । किनकी योनि मा प्राकृतिक रुपमा चिप्लो पदार्थ निस्किने गर्छ भने गुदा मैथुनमा त्यस्तो हुदैन । तसर्थ गुदा मैथुन गर्दा हाम्रो आखाले नदेखे पनि छाला च्यात्तिने तथा पाछिने गर्छ र सजिलै अनेकौ संक्रमण हुने जोखिम रहन्छ । तसर्थ, यस्तो समस्याहरु न्यूनीकरण गर्नका लागि थुप्रै सँघ सँस्थाहरुले सित्तैमा कन्डम बाडिरहेका छन । साथै LGBTQ समुदायको पक्षमा काम गर्ने सँस्था निल हिरा समाज र देसै भरी फैलिएका यसका शाखाहरुले कन्डम तथा लुबृकेन्ट (चिप्लो पदार्थ) बाडिरहेका छन् । साथै नियमित रुपमा र गोप्य रुपमा HIV र यौन रोगहरु परिक्षण र औषधि उपचार पनि सित्तैमा गर्दै आइरहेका छन् । जसको फाइदा लिएर आफू तथा अरुलाइ पनि सुरक्षित राख्न सबैलाइ हार्दिक अनुरोध छ ।
६. विवाहको लागि दबाब र उपयुक्त पार्ट्नरको छनौट :- विवाह समाजले स्विकारेको तथा अनिवार्य जस्तै बनाएको दुई ब्यक्ति बिचको मिलन हो भने अर्कातिर सामाजिक तथा पारिवारिक बन्धन पनि हो । तर समलिंगी समुदायको हकमा यो निकै नै कठिन कार्य हो । एक केटा सँगै प्रेम, आकर्षन अनि यौन झुकाव रहेको समलिंगी केटालाइ केटि सँग विवाह गर्न को लागि घर परिवार, साथिभाइ इष्ट मित्र र समाज बाट बेला बेला दबाब आइरहन्छ । अर्कातिर लुकेर बसेको समुदायमा कुनै भरपर्दो पार्ट्नर भेटाउन पनि उत्तिकै मुस्किल हुने गर्छ । जुन दबाब बाट बच्नको लागि समलिंगी समुदायका व्यक्तिहरु घर परिवार छोडेर अन्यत्र पलायन भैरकेको पनि थुप्रै उदाहरणहरु देख्न र सुन्न पाइन्छ । यसको लागि हामी सचेत र जागरुक हुन अत्यन्त जरुरी देखिन्छ । आफ्नो परिवार देखि पर आफ्नो दुनियाँ बनाउने कुरा कति हद सम्म ठिक हो त ? यस विषयमा गहिरिएर सोच्नु जरुरी देखिन्छ । तपाईं आफ्नो जीवनसाथी र भबिस्यको बारेमा कस्तो कल्पना गर्नु हुन्छ र त्यो पाउनको लागि परिवार, समाज कानुन र राज्यबाट कस्तो खालको अपेक्षा राख्नु हुन्छ । आगामी पुस्ताको लागि त्यो कुराले निकै नै महत्व राख्न सक्छ ।
७. बुढेसकालको साहारा :- आफ्नो बल बैँस रहुन्जेल त जिन्दगी सजिलै हुन्छ । जसोतसो जिन्दगी गुजारा गर्न सकिन्छ । तर उमेर ढल्किदै जादा अनि बिरामी पर्दा कसैको साहाराको जरुरत पर्ने कुरा बिस्तारै महसुस हुन्छ । जुन स्वभाविक नै हो । तसर्थ आफ्नो भबिस्य को बारेमा आफै अहिलै देखि नै सतर्क रहनु जरुरी हुन्छ । बुढेसकालमा आफुलाइ के के कुरा आवश्यक पर्छ जस्तै :- नियमित आम्दानिको स्रोत, मनग्य बैंक ब्यलेन्स अथवा बचत, एक उपयुक्त बासस्थान वा घरको बन्धोबस्त अनि कुनै भरपर्दो व्यक्तिको साथ जस्ता कुराहरु बारे सोच्नुपर्छ र अहिले देखिनै जोहो गर्नु पर्ने देखिन्छ । अन्यथा जिवनको उत्तरार्धमा निकै समस्याहरु झेल्नुपर्ने र कुनै बृद्धाश्रममा आफ्नो बाँकीको जीवन ब्यतित गर्नु पर्ने अनिवार्य हुन्छ ।
Comments
Post a Comment